चीनको एक्जिम बैंक र सानिमा बैंकबीच सम्झौता, दुई ठूला जलविद्युत आयोजना निर्माणमा सहकार्य

काठमाडौं । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात-आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको छ। कुल २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण गर्न सानिमालाई एजेन्ट बैंक तोकिएको हो।

यससम्बन्धी सम्झौतापत्रमा चीनको सिचुआनमा आयोजित एक विशेष कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौताअनुसार सानिमाले मनाङ मर्स्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) का लागि चिनियाँ एक्जिम बैंकको तर्फबाट मध्येस्थकर्ताको भूमिका निर्वाह गर्नेछ।

सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र चिनियाँ एक्जिम बैंकको सिचुआन शाखाकी उपाध्यक्ष वु यानजुनले हस्ताक्षर गे। कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङचोङ र मुख्य लगानीकर्ता कम्पनी इन्टरनेशनलका अध्यक्ष लियाओ बिनको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले आफ्नो बैंकलाई विश्वास गरी छनौट गरेकोमा एक्जिम बैंकप्रति आभार व्यक्त गरे। उनले यस सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तारमा टेवा पुग्ने र ऊर्जा तथा पूर्वाधार जस्ता क्षेत्रमा नेपाललाई महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा चिनियाँ एक्जिम बैंक र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजना समयमै सम्पन्न गर्न संयुक्त प्रतिबद्धता जनाएका थिए। उनीहरूले सानिमा बैंकको भूमिका महत्वपूर्ण हुने बताउँदै भविष्यमा अन्य क्षेत्रमा सहकार्यका लागि यी परियोजनाहरू कोशेढुंगा साबित हुने विचार व्यक्त गरे।

यो सम्झौतासँगै हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (युआन) को अन्तरदेशीय कारोबार नेपाल भित्र्याउन सानिमा बैंक सफल भएको बताइएको छ। यसले बैंकको कार्यक्षमता र साख वृद्धि गर्नुका साथै देशको दिगो विकासमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *