काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पारित भए देशका उद्योगधन्दा नै बन्द हुने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित ‘देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बाफिया ऐन संशोधनको प्रस्तावित स्वरूपमा बैंकर र व्यवसायीबीच गरिएको छुट्याउने व्यवस्था अर्थतन्त्रका लागि घातक हुने बताएका हुन्।
उनले भने, ‘५१ प्रतिशत शेयर संस्थापकलाई दिने, १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने जस्ता व्यवस्थाले उद्योग सञ्चालन गर्न नसकिने अवस्था आउन सक्छ,’ ‘यसले निजी क्षेत्रलाई निरुत्साहित पार्नुका साथै समग्र आर्थिक गतिविधिमा गम्भीर असर पार्नेछ।’
ढकालले यस्ता कानुनी व्यवस्थाले निजी क्षेत्रलाई उत्तरदायी बनाउने नाममा नै जिम्मेवारीबाट पन्छ्याउने वातावरण सिर्जना हुने बताए ।
‘व्यवसायी र बैंकर छुट्याउने प्रस्ताव नै अव्यवहारिक छ,’ उनले भने । उनले आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको भन्दै उच्चस्तरीय आर्थिक आयोगको गठन, कानुनी संशोधन तथा बजेटमा निजी क्षेत्रलाई दिइएको प्राथमिकता स्वागतयोग्य रहेको उनको भनाइ छ।
उनले भनेका छन् ,‘बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहक मानेर सुधारको प्रतिवद्धता जनाएको छ, यो सकारात्मक संकेत हो।’






