काठमाडौं । रसुवागढी क्षेत्रमा आएको बाढी र पहिरोका कारण विभिन्न बीमा कम्पनीहरूमा हालसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असार १८ गते चीनतर्फको क्षेत्रमा परेको अबिरल वर्षाले भोटेकोशी नदीमा बाढी आएपछि ठूलो मात्रामा क्षति भएको थियो ।
उक्त बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाउनुका साथै टिमुरे सुख्खा बन्दरगाह क्षेत्रमा रहेको भौतिक संरचना, सवारी साधन तथा आयात गरिएका सामग्रीमा गम्भीर क्षति पुर्याएको हो।
बीमा प्राधिकरणका अनुसार ११ वटा बीमा कम्पनीहरुमा सो मात्रामा दावी परेको हो । प्राधिकरणले यथासक्य दावी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिईसकेको छ ।
८४ करोड भन्दा बढीको दावीमध्ये सबै भन्दा धेरै भने हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा ५५ करोड रुपैयाँ भन्दा बढीको दावी परेको हो । शिखर इन्स्योरेन्समा भने १६ करोड रुपैयाँको दावी परेको छ । सबै भन्दा न्युन दावी भने प्रभु इन्स्योरेन्समा २८ लाख बराबरको मात्रै दावी परेको छ ।
यस्तै, नेकोमा ५ करोड, सगरमाथा लुम्बिनीमा २ करोड, नेपाल इन्स्योरेन्समा १ करोड रुपैयाँ बराबरको दावी पेश भएको छ ।
यस्तै, युनाईटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७५ लाख, सानिमा जिआइसीमा ७५ लाख, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।





