ज्योति विकास बैंक १८औं वर्षमा प्रवेश, एआई च्याटबट ‘ज्योति’ सार्वजनिक

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यसाथ ९ साउन २०६५ मा स्थापना भएको ज्योति विकास बैंकले शुक्रबार गौरवमय १७ वर्षको सफल यात्रा पूरा गरी १८औं वर्ष प्रवेश गरेको हो ।

प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंक अध्यक्ष हरिचन्द्र खड्काले गरे ।

उक्त समारोहमा बैंक सञ्चालक समिति सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू र कर्मचारीको उपस्थिति थियो । बैंक अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रम सुरु गरे ।

बैंकले वार्षिकोत्सवका दिन चौबिसै घण्टा उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्प मार्फत ग्राहकलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने छ । यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ ।

वार्षिकोत्सवमा बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीसँगको सहकार्यमा सप्तरी कञ्चनरुपमा आँखा जाँच तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ ।

राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिने छ ।

यस्तै, ई–नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिने छ । साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १ हजार ७ सय वृक्षारोपण गरिने घोषणा गरिएको छ । यस वर्ष पनि बैंकले ‘ज्योतिज् गट ट्यालेन्ट’ को दोस्रो संस्करण आयोजना गरी कर्मचारी तथा उनीहरूका बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन दिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

बैंकले वार्षिकोत्सवका अवसरमा आफ्नो ‘कर्पोरेट एन्थम’ पनि सार्वजनिक गरेको छ । यस एन्थमले बैंकको उद्देश्य, ध्येय र मूल्य मान्यता समेट्दै सबै सरोकारवालासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ । संगीतमार्फत बैंकको पहिचान र भावना सशक्त रूपमा व्यक्त गर्न खोजिएको यस रचनात्मक प्रयासले संस्थाको आन्तरिक भावना तथा वाह्य प्रस्तुतिलाई सन्तुलित बनाउने अपेक्षा गरिएको छ ।

समारोहमा आयोजित रक्तदान कार्यक्रममा करिब ५५ कर्मचारी, ग्राहक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए । साथै, निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरसमेत सञ्चालन गरिएको थियो ।

बैंकले १० वर्ष तथा १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएका समर्पित कर्मचारीलाई समारोहमै विशेष सम्मान गरेको छ । अध्यक्ष हरिचन्द्र खड्काले मन्तव्य व्यक्त गर्दै १७ वर्षको यात्रामा साथ दिने ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । उनले सामाजिक समृद्धि तथा कर्मचारी विकासमा बैंक निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै भविष्यमा पनि साथ र समर्थनको अपेक्षा गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, पूर्वअध्यक्ष, कर्मचारी, सेयरधनी तथा ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले तय गरेको लक्ष्य र ध्येयप्रति अझ सशक्त प्रतिबद्धता व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम र बैंकले हासिल गरेका उपलब्धिहरूको जानकारी गराउँदै भावी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकसँग सहकार्य गरेका संस्थाका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए । तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजी प्रमुख डा. रीता गुरुङले दृष्टि प्रदानमार्फत आत्मनिर्भर जीवन निर्माणमा बैंकको सहयोगको प्रशंसा गरिन् ।

राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले न्यानो नानी परियोजनामा बैंकको योगदानलाई वैज्ञानिक समाधान मार्फत समाज रूपान्तरणका रूपमा उल्लेख गरे । ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले थ्रिडी कृत्रिम हातले बालबालिकाको आत्मबल बढाउने विश्वास व्यक्त गरे भने लुम्बिनी वर्ल्ड पिस फोरम अध्यक्ष बसु गौतमले हरियाली प्रवर्द्धनमा बैंकको सहभागिता भावी पुस्ताका लागि प्रेरणादायक हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *