काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनतालाई भनेजस्तो सेवा सुविधा किन दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताएका हुन्। उनले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि बताए।
नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको उनले बताए। भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उनको भनाइ थियो।
‘किन भ्रष्टाचार दिन प्रतिदिन झन् बढ्यो, सही निष्कर्षमा पुग्न नेगेटिभ साइट पनि हेर्नुपर्छ। अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ। किन यति धेरै बढ्यो? अराजकता र बेथिति पनि सबैतिर ब्युरोक्रेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरु यो अराजकता के कारणले बढेको छ भन्नेकुराको समीक्षा हुन जरुरी छ,’ उनले भने।
अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताए। संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।







