ओली जस्तो विकासप्रेमी नेताकै कारण देशले काँचुली फेर्दैछ: सांसद श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको ओली जस्तो विकासप्रेमी नेताका कारण देशले काँचुली फेरेको बताएकी छन्। उनले ओली नेतृत्वको कारण  देशले विकास र राष्ट्रिय स्वाभिमानमा नयाँ गति लिएको बताएकी हुन्।

सरकारले गरेका कामको प्रशंसा गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा साकार हुने दिशामा अघि बढेको दाबी गरिन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोणका कारण देशले सही बाटो समातेको उल्लेख गरिन्।

“सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा आज देशले सही दिशा समातेको छ,” उनले भनिन, “उहाँले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा केवल नारामा मात्र सीमित छैन, यो हरेक नेपालीको जीवनमा साकार हुँदैछ।”

उनले सरकारले पूर्वाधार विकासमा ऐतिहासिक काम गरेको उल्लेख गर्दै भनिन्, “पूर्व-पश्चिम राजमार्गको विस्तार होस् वा सुरुङमार्ग निर्माणको सुरुवात, ७७ वटै जिल्लालाई सडक सञ्जालले जोड्ने कामले देशको विकासमा नयाँ तरंग ल्याएको छ।”

सांसद श्रेष्ठले सरकारले सामाजिक सुरक्षा भत्तामा गरेको वृद्धिले ज्येष्ठ नागरिकको सम्मान बढाएको र राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउने काम गरेकोमा प्रधानमन्त्रीको प्रशंसा गरिन्।

“सरकारले गरेका राम्रा कामको पनि आलोचना मात्रै गर्ने प्रवृत्तिले विकासको गतिमा बाधा पुऱ्याउँछ। हामी सबैले सकारात्मक सोचका साथ देश निर्माणको यो अभियानमा हातेमालो गर्न आवश्यक छ।” उनले भनिन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *