काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले संसद्मा सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद घर्ती मगरले संसद् सिंहदरबारको कार्यालय सत्र जस्तै बनेको टिप्पणी गरे । प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गर्दा पनि सभामुखले एक पक्ष ढंगले सदन चलाउने प्रयास गर्नु सदनको अपमान भएको उनले बताए ।
सभामुखको अनुपस्थितिमा सभामुखको कुर्सीबाट गरिने नाटकको रियलसल जस्तो दृश्यहरूले संसद्को गरिमालाई झनै कमजोर बनाएको उनको टिप्पणी छ ।
उनले भने, ‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ ।’
देशमा बाढीपहिरोबाट हजारौ| नागरिक विस्थापित छन् तर सरकारको तर्फबाट उद्धार र राहतलाई लिएर कुनै ठोस कार्ययोजना प्रस्तुत नभएको उनको भनाइ थियो ।
‘विशेष त तराई र ग्रामीण क्षेत्रमा पिउने पानीको चरम संकट छ । मिटर ब्याज पीडित सहकारी पीडितहरू न्यायको पर्खाइमा छन् तर सरकार कानमा कान हालेको भेषमा मौन छ,’ उनले भने ।






