काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो २७ वर्षे सफल यात्रा सम्पन्न गर्दै २८औं वर्षमा प्रवेश गरेको छ । देशको वित्तीय क्षेत्रमा सबल, गतिशील, उत्तरदायी र विश्वासिलो बैंकको पहिचान बनाउँदै आएको एनआईसी एशिया बैंकले आज २८औं वार्षिकोत्सव मनाउँदैछ ।
२८ वर्षअघि आजकै दिनदेखि सुरु भएको यस अतुलनीय यात्रामा, बैंकले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने भावनालाई आत्मसात गर्दै ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूको निरन्तर सहयोग, स्नेह र विश्वासका कारण आज देशकै अग्रणी बैंकको रूपमा स्थापित भएको जनाएको छ ।
बैंकले वित्तीय क्षेत्रको विकासमा पुर्याएको योगदानको सम्पूर्ण श्रेय आफ्ना सरोकारवालाहरूलाई दिँदै, आगामी दिनहरूमा झनै अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा विश्वस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
डिजिटल फष्ट बैंक बन्ने दृष्टिकोणसहित अघि बढिरहेको एनआईसी एशिया बैंकले हाल देशभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर, र ४२ शाखारहित बैंकिङ सेवा मार्फत लाखौं ग्राहकहरूसँग प्रत्यक्ष सेवा सम्बन्ध विस्तार गरिसकेको छ।
साथै, डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउँदै, वित्तीय समावेशीकरणको अभ्यासस्वरूप मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता दुर्गम तथा पिछडिएका जिल्लाहरूमा पनि आफ्नो उपस्थिति विस्तार गरी बैंकिङ सेवा पुर्याउन सफल भएको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिने अठोट समेत सार्वजनिक गरेको छ ।







