तनहुँको व्यास नगरपालिकाद्वारा १८ लाखभन्दा बढी छात्रवृत्ति वितरण

तनहुँ । व्यास नगरपालिका कार्यालयले २०८१/८२ मा २०६ विद्यार्थीलाई रु १८ लाख ४८ हजार ५०० छात्रवृत्ति वितरण गरेको छ। कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई रु ११ हजारका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जनालाई रु आठ हजार ५०० का दरले छात्रवृत्ति प्रदान गरेको हो। आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरेर पढ्ने वातावरण मिलाइदिएको नगरपालिकाले जनाएको छ।

शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भनी नगरपालिकाले शिक्षा क्षेत्रमा बर्सेनि ठूलोे रकम लगानी गर्दै आएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

उनले भने, “नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ, शैक्षिक क्यालेन्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।”

कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ। राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक, निवृत्त शिक्षक गरी ४९ र १२ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो। राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा अन्तर विद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

सङ्घीय शिक्षण सिकाइ सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको २३ कोटामा विषयगत शिक्षक पदपूर्ति गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनले भने, “प्रसूति बिदामा रहेका १३ शिक्षकको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सञ्चालन गरिएको थियो।” रासस

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *