काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र कम्पनी दुवैलाई दोषी ठहर गरेको छ।
जहाज दुर्घटना लगत्तै सरकारले बनाएको जाँचबुझ आयोगले एक वर्षपछि प्रतिवेदन बुझाउदै घटनाको मुख्य दोषीको रुपमा सौर्य एयरलाइन्सको कम्पनी र प्राधिकरण देखिएको उल्लेख गरेको हो।
आयोगले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाउदै मर्मतका लागि पोखरा उड्न लागेको जहाजमा पाइलट र कोपाइलट बाहेकलाई उडान अनुमति दिएको प्रति प्राधिकरणको गल्ति भएको औल्याएको छ। सीचेकका लागि जान लागेको जहाजमा अन्य व्यक्तिहरु राखेर उड्न लागेको जहाजलाई प्राधिकरणले उडान अनुमति दिनु गलत भएको उल्लेख गरेको हो।
आयोगको प्रतिवेदनमा भनिएको छ ‘म्यानुअल‑ भाग बी को अध्याय ७ मा उल्लिखित तौल लिने, लोडिङ र लोड सुरक्षित गर्ने सम्बन्धी आवश्यकताको पालना गरिरहेको थिएन, आयोगले यसलाई एयरलाइन्सको गम्भीर कमजोरी भनेको छ।’
आयोगको जाँचबाट जहाजको मुख्य ल्यान्डिङ गियरको टीबीओ (टाइब बिटविन ओभरहल) २०२४ अप्रिल १७ सम्म मात्र रहेको खुलेको छ। यस्तै, जहाजको दुबै एमएलजीएसको टीबीओका लागि २०२४ अप्रिल २० मा म्याद थपिएको र त्यो १९ जुनसम्मका लागि मात्र मान्य रहेको पाइएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।
‘सबै अपरेटरले कार्गो र सामान व्यवस्थापनसम्बन्धी आवश्यकता पालना गर्नुपर्नेछ। ब्यागेज तथा कार्गोको तौल, यसको वितरण र ल्याचिङ अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलमा उल्लेख गरिएअनुसार सुनिश्चित गर्नुपर्नेछ’, आयोगले भनेको छ, क्यानले सबै गैरतालिकाबद्ध उडान (गैर‑राजस्व र फेरी)को अनुमति दिने प्रक्रिया र आवश्यकताहरूको पुनरवलोकन र अद्यावधिक गर्नुपर्नेछ।’
गएको वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको सो जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १८ जनाको दुःखद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य जीवितै उद्धार गरिएको थियो।
दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो।





