काठमाडौं । आजदेखि शेयर धितो राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो।
बुधबार सार्वजनिक परिपत्रमार्फत राष्ट्र बैंकले सेयर बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मार्जिन लोन’ (शेयर धितो कर्जा) को सीमा वृद्धि गरेको हो। यसअघि यो सीमा १० करोड रुपैयाँ थियो, जुन पछिल्लो मौद्रिक नीतिबाट १५ करोड पुर्याइएको थियो। अब थप वृद्धि गर्दै २५ करोड रुपैयाँसम्म पु-याइएको हो।
यो व्यवस्था केवल ‘मार्जिन प्रकृति’का सेयर धितो कर्जामा मात्र लागू हुनेछ। अन्य प्रयोजनमा लिइने सेयर धितो कर्जामा भने यस प्रकारको सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले यो सीमा व्यक्तिगत ऋणीका हकमा मात्र लागू हुने जनाएको छ। संस्थागत ऋणीका हकमा भने यस्तो कर्जा सीमा लागु नहुने व्यवस्था कायम रहनेछ।





