काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ९ करोड १६ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः६ बजेसम्म ५७ हजार २१९ जनाले ९ लाख १६ हजार ७० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३९.६५ गुणा बढी आवेदन हो ।
स्वस्तिक लघुवित्तले असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरिएको हो । साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले यस लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्नमा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ प्रदान गरेको छ ।





