काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियामकीय निर्देशन पालना नगर्ने ३ विकास बैंक र ३ फाइनान्स कम्पनीमाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ।
कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, पोखरा फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्स रहेका छन् ।
गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत पद तीन महिनासम्म रिक्त राखेको र आपसी समझदारीको अभावले संस्थाको सञ्चालनमै अवरोध पुगेको राष्ट्र बैंकले औंल्याएको छ। कार्यविधि अनुसार सिइओ नियुक्त नगरेको भन्दै सञ्चालक समिति सदस्यहरूलाई सचेत गराइएको छ।
त्यस्तै, जानकी फाइनान्स न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्दा शीघ्र सुधारात्मक कारबाहीमा परेको छ। त्यसैगरी, पोखरा फाइनान्सलाई अनिवार्य मौज्दात नपुर्याएको भन्दै राष्ट्र बैंकले ४६ हजार ७१८ रुपैयाँ जरिवाना गराएको छ। साथै, सुधारका निर्देशन पालना नगरेपछि सिइओ रविचन्द्र गुरुङलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ।
तोकिएको न्यूनतम चुक्ता पुँजी कायम नगरेको र पटक–पटक निर्देशन दिए पनि कार्यान्वयन नगरेले राष्ट्र बैंकले साल्पा विकास बैंकका सञ्चालकहरूलाई नसिहत दिएको छ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिको संयोजक बनेको भेटिएपछि, राष्ट्र बैंकले एकीकृत निर्देशन उल्लंघन भएको भन्दै ढकाललाई सचेत गराएको छ।
राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकले एकल ग्राहक कर्जा सीमा पालना नगरेको, निर्देशित चुक्ता पूँजी नपुर्याएको, तथा सर्वसाधारणबाट तोकिएको सीमाभन्दा बढी निक्षेप संकलन गरेको भन्दै लिखित निर्देशन जारी गरेको छ।







