नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर पदको उम्मेदवारका लागि नीलकाजी शाक्य र उपमेयरमा शुशिला ढकालको नाम पहिलो नम्बरमा सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिको आइतबार बसेको पूर्ण बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेस महानगर समितिका सभापति समेत रहेका शाक्य र उपसभापति रहेकी ढकाललाई सिफारिस गर्ने निर्णय गरेको हो । पार्टीको विधान अनुसार अन्य मेयर र उपमेयरका आकांक्षीहरूको नाम पछि सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।
चुनाव सम्बन्धि बाँकी काम गर्ने अधिकार बैठकले पदाधिकारीलाई दिएको छ । बैठकले स्थानीय निर्वाचनमा महानगरपालिका भित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा सहभागी सदस्यहरूले महानगरमा तालमेल विना कांग्रेस एक्लैले चुनाव लड्नु पर्ने सुझाव दिएका थिए ।