काठमाडाै। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कांग्रेसको बुद्धिजीवी विभागको कार्यक्रममा बोल्दै थापाले बहालवाला मन्त्रीमाथि घुस लिएको अडियो सार्वजनिक भइसकेको अवस्थामा प्रधानमन्त्रीको ढिलासुस्तीप्रति आश्चर्य व्यक्त गरे।
‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’
‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ,’ थापाले भने, ‘संलग्न भएका अरू को–को छन् ? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ । तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ ।’







