खुकुलो मौद्रिक नीतिले आर्थिक गतिविधिमा नयाँ ऊर्जा थपिनेछ: अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिलाई आर्थिक पुनरुत्थानका दृष्टिले सकारात्मक संकेत दिने बताएका छन्। उनका अनुसार यस वर्षको मौद्रिक नीति अपेक्षाकृत खुकुलो ढाँचामा आएको छ, जसले निजी क्षेत्रका गतिविधिलाई सहज बनाउन सहयोग पुग्नेछ।

‘मौद्रिक नीति खुकुलो नै आयो। यसले सेयर बजारदेखि घरजग्गा कारोबारसम्मका क्षेत्रमा सकारात्मक सन्देश दिएको छ,’ ढकालले भने। महासंघले अघि सारेका सबै सुझावहरू समावेश नभए पनि उनले अनावश्यक रूपमा कडाइ गरिएका प्रावधानहरूलाई खुकुलो बनाइएकोमा सन्तोष व्यक्त गरे।

ढकालका अनुसार सेयर धितो कर्जाको सीमा बढाइएको, व्यक्तिगत घर कर्जाको सीमा बढाइएको र बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुग्ने वातावरण बनाइएको छ। ‘यस किसिमले अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट सन्देश दिएको छ,’ उनले थपे।

अध्यक्ष ढकालले मौद्रिक नीतिपछि बैंकहरूको ब्याजदरमा कमी आउने संकेत देखिएको भन्दै त्यसले लगानीकर्ताहरूलाई थप उत्साहित बनाउने बताए। उनका अनुसार, नीति कार्यान्वयन प्रभावकारी भएमा वर्तमानमा सुस्त देखिएको अर्थतन्त्रलाई गति दिन सकिनेछ। उनी भन्छन् ‘नयाँ मौद्रिक नीतिले पुँजी बजार, उद्योग, सेवा र निर्माण क्षेत्रलाई गतिशील बनाउन सहयोग पुग्नेछ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *