काठमाडौं । झुटा विवरण तयार पार्दै कमसल कम्प्युटर सामग्री खरिद गरेर करिब १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालि, कान्तिपथ र कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।
आव ०७६/७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारको माग छ ।






