पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिने

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई यस वर्षको ’हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ। नेपाल जन–प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा श्रेष्ठलाई न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी आगामी असार २६ गते बिहीबार पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैयाँसहितको सम्मान अर्पण गरिनेछ ।

कल्याण श्रेष्ठले कानून र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए। उनी मुलुकका २५औँ प्रधान न्यायाधीश हुन्। दश वर्षे सशस्त्र द्वन्द्वको अवसान, बृहत् शान्ति सम्झौता र संविधानसभाको निर्वाचनजस्ता महत्त्वपूर्ण राजनीतिक सङ्क्रमणका बखत उनको न्यायिक सक्रियता उल्लेखनीय रहेको जनप्रशासन सङ्घले जनाएको छ ।

श्रेष्ठको चयन पूर्वलोक सेवा आयोग अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित छनोट समितिले गरेको हो । समितिमा सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला र सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा रहेका छन् ।

हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना गरिएको हो। सार्वजनिक वितरण, सेवा र व्यवस्थापन क्षेत्रमा स्वर्गीय हेमबहादुर मल्लको योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा उक्त सम्मान स्थापना गरिएको हो ।

नेपाल जन–प्रशासन सङ्घले यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा जस्ता व्यक्तित्वलाई सो सम्मान प्रदान गरिसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *