काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि हवाई टिकटमा कडाइ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सबै एयरलाइन्सलाई परिपत्र जारी गर्दै गन्तव्य मुलुक नपुगुन्जेल यात्रुको दुईतर्फी टिकट रद्द गर्न नपाइने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
सरकारले भिजिट भिसामा विदेश जान अनिवार्य रूपमा दुईतर्फी टिकट, होटल बुकिङ, डलर व्यवस्था गर्नुपर्ने मापदण्ड अघि नै तय गरिसकेको छ।
तर, केही यात्रुले बोर्डिङ पास पाएपछि टिकट रद्द गर्ने गरेकाले यो प्रावधान लागू गरिएको हो।
नयाँ नियमले भिजिट भिसाको दुरुपयोग, मानव तस्करी र विदेशमा नेपाली अलपत्र पर्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।







