काठमाडौं । नबिल बैंक यसवर्ष पनि सर्वाधिक नाफा गर्ने बैंक बन्ने निश्चित देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकले ५ अर्ब ६० करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले यस अवधिमा ३३ अर्ब ३५ करोड रूपैयाँ ब्याज आम्दानी गरेकाे छ भने २० अर्ब १२ करोड रूपैयाँ ब्याज खर्च गरेको छ । समीक्षा अवधिमा बैंकले गरेको कर्जा लगानीबाट २८ अर्ब ३९ करोड रूपैयाँ ब्याज आम्दानी प्राप्त गरेको छ ।
यस्तै, नबिल बैंकले सरकारी ऋणपत्रमा गरेको लगानीबाट ३ अर्ब ४८ करोड रूपैयाँ र विदेशी ऋणपत्रमा लगानी गरेर २ अर्ब ९३ करोड थप आम्दानी गरेको छ । ब्याज खर्चतर्फ बैंकले साधारण बचतमा बैंकले ४ अर्ब ५० करोड र मुद्दती निक्षेपमा १४ अर्ब ३५ करोड रूपैयाँ ब्याज दिएको छ ।
यस्तै, बैंकले सेवा शुल्कलगायतका कमिसन तथा डिस्काउन्ट शीर्षकअन्तर्गतबाट ३ अर्ब ४५ करोड रूपैयाँ आम्दानी गरेर ९३ करोड रूपैयाँ खर्च गरेको छ । नबिल बैंकले यस अवधिसम्म सर्वसाधारणसँग ५ खर्ब ७ अर्ब रूपैयाँ निक्षेप लिएर ४ खर्ब ६ अर्ब कर्जा लगानी गरेको छ ।
यस बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रूपैयाँ रहेको छ। बैंकको साधारण जगेडा कोषमा १५ अर्ब १६ करोड रूपैयाँ पुगेको छ। राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको नाफाबाट २० प्रतिशत साधारण जगेडा छुट्याउनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार बैंकको साधारण जगेडा कोष बढ्दै गएको हो ।
नबिल बैंकले पछिल्लो समय हरित कर्जा लगानीमा जोड दिँदै आएको छ। जलविद्युत, हरित घर, विद्युतीय सवारीसाधन, कृषिलगायतका क्षेत्रमा कर्जा लगानीमा प्राथमिकता दिँदै आएको छ ।







