काठमाडाैं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।






