इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर पूरै खरिद गर्ने प्रस्ताव गरेका छन् । मस्कले ४१ अर्ब अमेरिकी डलर ट्विटर खरिदमा खर्चिन तयार भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरको ९ प्रतिशतभन्दा धेरै सेयर खरिद गरेर भर्खरै ठूलो लगानीकर्ता बनेका मस्कले यसअघि ट्विटरको बोर्डमा बस्न अस्वीकार गरेका थिए । मस्कले सोलगत्तै पूरै खरिदको प्रस्ताव गरेको रोयटर्सले जनाएको छ । यसअनुसार उनले ट्विटरको प्रतिकित्ता सेयर ५४.२० अमेरिकी डलर प्रस्ताव गरेका छन् । बिहीबार नियामकीय निकायमा पेस गरेको कागजातले मस्कको खरिद प्रस्तावबारे खुलासा भएको हो ।
उनले ट्विटर एक निजी कम्पनीमा रुपान्तरित हुनुपर्ने जनाउँदै ट्विटरका प्रमुख ब्रेट टेलरलाई पत्र समेत लेखेका छन् । ‘मेरो अफर उपयुक्त र अन्तिम छ र यदि अस्वीकृत भयो भने मैले सेयरसदस्यको पदबारे पनि विचार गर्नुपर्ने हुनसक्छ’, मस्कले भनेका छन् । मस्कको प्रस्तावपछि ट्विटरको सेयर १२ प्रतिशतले बढेको बताइएको छ ।