काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । अब यस ऋणपत्रमा बिहीबार जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ । यसअघि बैंकले आज (जेठ २१ गते) सम्म ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो । तथापि, जेठ १८ गते भोटो जात्राका लागि उपत्यकाभित्र सार्वजनिक विदा दिइएकाले बिक्री अवधि १ दिन थप गरिएको बैंकले जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ। त्यसमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। निफ्राको यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।







