काठमाडौँ । एनआईसी एशिया बैंकविरूद्ध हजारौं उजुरी तथा गुनासो दर्ता भएका छन्। आर्थिक बर्ष २०८०/८१ मा बैंकविरूद्ध ३ हजार १ सय उनान्तिस वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीमध्य ठगी सम्बन्धी उजुरी भन्दा बढी छन्।
आव २०८०/८१ मा बैंकविरूद्ध सेवा गुणस्तरसम्बन्धी ६ सय ७५, प्राविधिक कठिनाईका ५ सय ८०, वित्तीय लेनदेन सम्बन्धी २ सय ७७, ब्याजदरसम्बन्धी १ सय ५४, ठगी तथा अन्यमा १ हजार ४ सय १०, सेवा अवरोधसम्बन्धी ३३ गरी ३ हजार १ सय उनान्तिस वटा उजुरी दर्ता भएका हुन्।
त्यसो त बैंकले -‘एन आई सी एशिया बैंकसंग सम्बन्धित कुनै पनि समस्या, जिज्ञासा वा गुनासो छ ? छ भने उल्लेखित माध्यमहरूमध्ये यहाँलाई सहज लाग्ने कुनै पनि माध्यमबाट हामीलाई सम्पर्क गर्नुहोस्, आफ्नो ग्राहक महानुभावहरू प्रति उत्तरदायी बन्दै तुरुन्तै समस्या, जिज्ञासा वा गुनासो समाधान गर्ने प्रयास गर्नेछौं।’ भन्दै प्रचार प्रसार भने गरिरहेको हुन्छ।
तर, यथार्थमा भने बैंकले न गुनासो सुन्छ, न त सजिलै उजुरी दर्ता गर्छ। बैंकमा दर्ता भएका कतिपय उजुरीमाथि हालसम्म पनि सम्बोधन समेत भएको छैन।
त्यस्तै, आव २०८०/८१ मा बैंक विरुद्द नेपाल राष्ट्र बैंकमा सयौँ उजुरी दर्ता भएका छन्। तर, उक्त उजुरीमाथि कुनै पनि अनुसन्धान प्रकृया अघि बढाइएको छैन। उजुरीका सम्बन्धमा बुझ्न खोज्दा राष्ट्र बैंकका जिम्मेवार कर्मचारी समेत एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन्।
त्यसैगरी बैंकविरुद्द अदालतमा समेत ४ सय चौतिस वटा मुद्दा दायर भएका छन्। बैंकले आर्थिक बर्ष २०८०/८१ मा बैंकले सयौँ मुद्दा मुद्दा खेपिरहेको छ। तीमध्ये अधिकांश मुद्दा ठगी, ऋण अशुलीमा अपारदर्शीता, अनावश्यक ब्याज अशुल, जबर्जस्ती सम्पत्ति लिलामी, बैंकको असहयोगी व्यवहार र सेवाप्रतिको असन्तुष्टिसँग सम्बन्धित छन्।
बैंकविरुद्ध दायर मुद्दामा सबैभन्दा बढी कर्जा अशुलीका छन्। यस अवधिमा बैंकले ४ सय चार वटा मुद्दा खेपिरहेको छ। त्यस्तै, बैंकविरुद्ध संचालन सम्बन्धी २६ वटा र अन्य २ वटा मुद्दा अदालतमा विचाराधीन छन्।
पछिल्लो समय बैंक वित्तीय संकटमा छ। बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रोशन कुमार न्यौपानेको खराव प्रदर्शन तथा फितलो व्यवस्थापनका कारण बैंक संकटमा छ। त्यसमाथि बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु बिचको किचलो सतहमा आएसँगै बैंकप्रति लगानीकर्ता थप सशंकित बनेका छन्।






