‘राइड सेयरिङ’ को विरोधमा आज गण्डकीमा सार्वजनिक यातयात ठप्प

पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प भएको छ ।

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि विरोधमा उत्रिएका यातायायत व्यवसायीले शुक्रबार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

पोखराबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी नछुट्दा यात्रु मर्कामा परेका छन् । शुक्रबार गण्डकीको यातायात ठप्प पारेका व्यवसायीले सोमबारदेखि भने देशभरको सार्वजनिक सवारी ठप्प पार्ने चेतावनि दिदै आइरहेका छन् ।

राइड शेयरिङ र शेल्फ राइडलाई मान्यता दिन गण्डकी प्रदेशले नियमावाली जारी गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको नेतृत्व लिएको छ ।

गण्डकी प्रदेश सरकारले नियमावली जारी गरेर सार्वजनिक यातायातलाई अन्याय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेल बताउँछन् । उनी भन्छन्, ‘सरकार यो निर्णयबाट पछि हट्नुुपर्छ ।’ सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलनलाई निरन्तरता दिने उनको भनाइ छ ।

ग्ण्डकीको मन्त्रीपरिषद्ले गएको बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै यातायात व्यवसायी विरोधमा उत्रिएका छन् ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा वार्ता समिति बनाएपनि व्यवसायी वार्तामा बस्न चाहेका छैनन ।

गण्डकीमा झण्डै १६ हजार सार्वजनिक सेवा दिने सवारी रहेका छन् । ति सबै ग्यारेज, सडक र घरमै थन्काएर सेवा ठप्प पारेपछि सडक विहानैदेखि सुनसान बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *