काठमाडौँ। अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट बिहीबार संयुक्त सदनमा पेश गरेका छन्।
बिहीबार सार्वजनिक बजेटअनुसार सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक खर्ब ५२ अर्ब बजेट पाएको छ । देशभरका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजना कार्यान्वयनका लागि उक्त बजेट उपलब्ध गराइएको हो ।
आगामी आवको बजेटमा सहरी विकास मन्त्रालयका लागि रु एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ । यसैगरी गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड बजेट उपलब्ध गराइएको छ ।






