काठमाडौं । विवादित व्यापारी बिष्णु अग्रवालमाथि गम्भीर आरोप लागेको छ । एमएडब्लु इन्टरप्राइजेजका सञ्चालक अग्रवालमाथि डेढ करोड मूल्य बराबरको गाडी ८ महिनादेखि कब्जा गरेर फिर्ता नगरेको र सवारी साधनको व्यापारका नाममा उपभोक्तामाथि ठगी गर्ने गरेको आरोप लागेको हो ।
अग्रवालले नेपालमा सञ्चालन गर्दै आएको एमएडब्लु (MAW) कम्पनीले अनधिकृत रुपमा सवारी साधनको व्यापार गर्ने गरेको तथ्य फेला परेको छ । यस कम्पनीले उपभोक्ताको विश्वासमा धक्का पुर्याउँदै गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।
यस कम्पनीको सवारी खरिद गरेका उपभोक्ताहरूकै भनाइअनुसार, MAW कम्पनीले जापान, भारत, चीनलगायत विभिन्न देशबाट सस्तो मूल्यमा गाडी आयात गरी ती गाडीहरूलाई दोब्बरभन्दा बढी मूल्यमा नेपाली बजारमा बिक्री गर्ने गरेको छ ।
अग्रवालको कम्पनीमाथि भन्सार प्रक्रियामा अनियमितता, कर छली, कम गुणस्तरको सवारी साधनको आयात तथा महँगो मूल्यमा बिक्री गर्दै आएको गम्भीर आरोप छ । जसलाई यस कम्पनीबाट प्रचारप्रसारकै आधारमा सवारी खरिद गरी भनेजस्तो नहुँदा ठगिएका उपभोक्ताहरुले नै प्रमाणित गरेका छन् । जुन बिषय विभिन्न संचार माध्यममा समेत सार्वजनिक भइसकेको छ ।
अग्रवालद्वारा संचालित कम्पनीले केही वर्ष यामाहाका मोटरसाइकल र डीप्पल कम्पनीका इलेक्ट्रिक गाडीहरू नेपाल भित्र्याएर प्रचारबाजी गरेकै भरमा उक्त ब्रान्ड आक्रामक रुपमा बिक्री गर्न सफल भयो । तर प्रयोगमा आएको छोटो समयमै सवारीसाधनमा प्राविधिक समस्या एकपछि अर्को गर्दै देखिन थाले । जसका कारण उक्त ब्रान्डका गाडीहरूको माग घट्न थाल्यो र उपभोक्ताहरूले आफू ठगिएको बुझ्न थाले ।
त्यस्ता, अग्रवालको कम्पनीबाट ठगिएका थुप्रै उपभोक्ता छन् । जसमध्यका एक हुन्, निरज केसी ।
राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पीडित निरज केसीले आफूले २०८१ असोज १७ गतेदेखि आफ्नो स्वामित्वमा रहेको बा २५ च २६६२ नम्बरको कम्पास गाडी कम्पनीले कब्जा गरेको बताएका हुन् ।
केसीका अनुसार असोज १२ र १३ गते काठमाडौं लगायतका क्षेत्रमा परेको वर्षाका कारण घरमा पार्किङ गरिएको गाडीमा सामान्य मात्रामा पानी पसेको थियो । त्यसको जानकारी कम्पनीलाई दिइएपछि एमएडब्लुको अधिकृत सर्भिस सेन्टर ‘लाइफ अटो मोबाईल, बसुन्धरा’का कर्मचारीहरूले गाडी लिएर गएका थिए । केसी भन्छन्-‘केही दिनमै मर्मत गरेर फिर्ता गरिदिने भनेर लगिएको गाडी ८ महिना भयो, अहिलेसम्म पाएको छैन।’
‘सुरुमा नयाँ गाडी दिने भनिएको थियो, तर न त पुरानै बनाएर फिर्ता गरियो, न नयाँ दिइयो।’म बैंकको ब्याज तिरेर बसिरहेको छु । केसीका अनुसार कम्पनीले न त बीमाबाट क्षतिपूर्ति लिन दिएको छ, न गाडी मर्मत नै गरिदिएको छ। उल्टै गाडी माग्दा कम्पनीका अधिकारीहरूबाट धम्की आउने गरेको केसी गुनासो गर्छन्। न्याय माग्न अदालत जाने बताउँदा कम्पनीविरुद्द अदालतमा १०० वटा मुद्दा रहेको र तपाईँको एउटा थपिँदा केहि फरक पर्दैन भन्दै कम्पनीका सिईओले तानाशाही रवैया देखाएको केसी बताउँछन्।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत रहेका एमएडब्लुका मालिक विष्णु कुमार अग्रवालको पछाडि ठूलो शक्तिको हात रहेको केसीको आरोप छ। एमएडब्लुसँग कारोबार गरेका केसीले सो कम्पनीले भन्सार छली तथा करछलि समेत गरेको आशंका व्यक्त गरेका छन् । विष्णु अग्रवालको एमएडब्लु इन्टरप्राईजेजले यामाहाको स्कुटर, बाईक, जेसीबी, जीप, स्कोडालगायतका उच्च सुविधा सम्पन्न सवारी साधनहरुको आधिकारिक बिक्रेताको काम गर्दै आएको छ।
व्यापारका नाममा अग्रवाल र उनको कम्पनी गर्ने यस किसिमको व्यवहारले उपभोक्ताको अधिकारमाथि प्रहार मात्रै भएको छैन । यसले संचालकको व्यवसायिक नैतिकतामाथि समेतगम्भीर प्रश्न उठाएको छ ।
कुनै समयमा नेपाल उधोग परिसंघका अध्यक्ष समेत रहेका अग्रवालबाटै उपभोक्ता ठगिन्छन् भने अन्य व्यापारीबाट व्यवसायीक इमानदारीताको अपेक्षा गर्न नसकिने जानकारहरु बताउँछन् ।
यस सम्बन्धमा ग्राहकका सयौं गुनासो छन् । तर सरकार, उपभोक्ता संरक्षण मन्त्र तथा भन्सार प्रशासनले समेत कुनै चासो देखाएको छैन । नाफा कमाउने नाममा उपभोक्तमाथि गरिएको लुट तथा व्यापारिक बेईमानीलाई समयमै नियमन गर्न सकिएन भने यसले ठुलो समस्या निम्त्याउने कानुनविद्हरुको भनाई छ ।
अग्रवाल अहिले यामाहा, जिप, स्कोडा, जेसिबी, लेट, फोटोन, एमएडब्लु इन्जिनियरिङ, एमएडब्लु इन्भेस्मेन्ट, एस्कर्ट, बेस एण्न्ड ट्रेबललगायत कम्पनीका मालिक हुन् । अग्रवालले यतिबेला डिपल ,फोटोन र सेरेसजस्ता ब्रान्डका विद्युतीय सवारीसाधनबाट लुट मच्चाई रहेका छन् ।
अग्रवाल तथा उनका कम्पनीले भित्र्याएका ब्रान्डबिरुद्ध यतिबेला ग्राहकहरूले सामाजिक सञ्जालमार्फत पनि आक्रोश पोख्दै यस कम्पनीमाथी छानबिन गरि कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
नेपालमा उपभोक्ताको अधिकार संरक्षणका लागि बनेका कानुन र नीति व्यवहारमा कमजोर देखिँदै गएको कारण यस्ता गतिविधिले स्थान पाएको अधिवक्ताहरु बताउँछन् । सरकारले अग्रवाल जस्ता शक्तिशाली व्यापारीहरूका गैर कानुनी कामलाई नियन्त्रण गरी जवाफदेही बनाउन नसक्दा उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरुको दावी छ ।






