काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले हावाहुरीका कारण बत्ती गएको जनाएको छ। प्रधिकारणले लोडसेडिङ भएको भन्ने हल्लामा विश्वास नगर्न समेत आग्रह गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्न आग्रह गरेको हो।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा सामाजिक सञ्जालमा व्याप्त अतिरञ्जित हल्ला गरिएजस्तो गरी विद्युत आपूर्तिमा समस्या नरहेको जानकारी गराउँदछ। कहीँकतै कुनै पनि ग्राहस्थ ग्राहकवर्गको क्षेत्रमा लोड सेडिङ नभएको र आगामी दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोडसेडिङ नहुने कुरामा आश्वस्त गराउन चाहन्छौँ।’
साथै, प्राधिकरणले साँझको समयमा आफ्नो खपत कम गरेर सहयोग गरिदिन औद्योगिक क्षेत्रका ग्राहकहरूलाई आग्रह गरेको छ।
नेपालका नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिट्टै समाधान हुने प्राधिकरणको भनाइ छ।
हाल हावाहुरी, चट्याङसहितको वर्षाका कारण कुनै संरचनामा क्षतिपुग्दा केही समय विद्युत आपूर्ति केही समय बन्द भए पनि लोडसेडिङ नभएको प्राधिकरणको दाबी छ।







