काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले गर्दा निरन्तरता दिन नसके पनि आजबाट उक्त सेवालाई निरन्तरता दिइएको बताइएको छ ।
तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको परीक्षा नियन्त्रक जोशीले बताए ।
उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।
अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।








