काठमाडौं । दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।






