बजेटमा अटो क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

काठमाडाैं । अटोमोबाइल व्यवसायीहरूले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ‘नाडा अटो डायलग’ कार्यक्रममा उनीहरूले वर्तमान नीति तथा व्यवस्थाले व्यवसायमा चुनौती थपिएको भन्दै सुधारको माग गरे।

नाडाका अध्यक्ष करण चौधरीले भने, ‘सवारीसाधन जनताको आवश्यकता हो। जबसम्म नागरिकको हिँडडुल (मोबिलिटी) सहज हुँदैन, देश समृद्धितर्फ जान सक्दैन,’ उनले मोबिलिटीले देशका हरेक क्षेत्रलाई जोड्ने भन्दै यसको महत्त्व बुझ्न आग्रह गरे।

अटोमोबाइल क्षेत्र केबल गाडी किनबेच गर्ने व्यापार मात्रै होइन, यो क्षेत्र रोजगारी, राजस्व र उद्योग प्रवर्द्धनसँग पनि गहिरो रूपमा जोडिएको उनले बताए।

अध्यक्ष चौधरीले विद्युतीय सवारी (इभी) किन्न दिइने कर्जा सीमा घटाइएकोमा असन्तुष्टि व्यक्त गरे। नेपाल राष्ट्र बैंकले केही समयअघि विद्युतीय सवारीमा लोन दिने सीमा अर्थात् ‘लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका सवालमा सरकारका सुझाव संकलनको क्रममा रहेक‍ बताए। उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताए। ‘अब यो क्षेत्र केबल आयातमै सीमित छैन, सवारी उत्पादनतर्फ पनि अघि बढिरहेको छ, जुन राम्रो संकेत हो,’ अर्थमन्त्री पौडेलले भने।

ऋणको सिमाको सवालमा राष्ट्र बैंक एउटा स्वतन्त्र निकाय भएकोले दुई निकायबीच समन्वय आवश्यक रहेको बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *