ग्लोबल आईएमई बैंक विरुद्ध सीआईबीमा जाहेरी

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड विरुद्ध  केन्द्रीय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी परेको छ। बैंकले ऋणीसँगको मिलेमतोमा ग्राहकको निक्षेप दुरुपयोग गरेको भन्दै निष्पक्ष छानविन गर्न माग गर्दै  बैंककै एक शेयर धनीले जाहेरी हालेका छन्। बैंकबाट दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा. लिका नाममा नियमविपरित प्रवाह भएको ८ करोड रुपैयाँ कर्जा जोखिममा परेकोले यसमाथि अविलम्ब  छानविन गर्न माग गरिएको छ ।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र सीईओकै मिलेमतोमा विवादस्पद इतिहास भएको एनबी समूहको कम्पनीमा नियमविपरित कर्जा प्रवाह भएकोले उक्त एसएमई कर्जा डुब्ने अवस्था पुगेको विभिन्न संचारमाध्यममा समाचार प्रकाशित समेत भएको थियो।

एक त आदलतमा मुद्दा विचाराधीन ,  धितो देखाईएको जग्गा अर्कै बैंकको नाममा बन्धक त्यसमाथि पनि  कम्पनीको कारोबार सून्य भएको र कर समेत नारिरेको नेटवर्थ नेगेटिभ भएको कम्पनीमाथि ग्लोबल आईएमइ बैंकले किन लगानी गर्यो भन्ने बिषय आँफैमा संकास्पद भएको जाहेरीमा उल्लेख छ।

‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि’. र साबिकको एन सी सी बैंक (हाल मजर्र भई कुमारी बैंक लि.) बाट सुरु भएको घटनाक्रम ग्लोबल आईएमई बैंकसम्म पुग्दा बैंकको ८ करोड रुपैयाँ अपचलन भएको पाईएपछि सीआईबीमा जाहेरी परेको हो ।

जाहेरीमा भनिएको छ,- ‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि. ले साबिक नेपाल क्रेडिट एण्ड कमर्श बैंक (हाल मर्जर पश्चात कुमारी ) बाट बदनियत पूर्वक कर्जा लिनका लागि २०६८ साल जेठ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको, २०६८ जेठ १२ मा कम्पनी आएकरमा दर्ता प्रमाणपत्र लिएको, २०६८साल जेठ २० गते नै उक्त कम्पनीले १२ करोड रुपैयाँ कर्जा माग गरी साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा निवेदन दिएको, २०६८साल असार १२ गते ‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि.’ को नाममा १,१७,००,००० एक करोड १७ लाख रुपैयाँमा उक्त जग्गा राजिनामा पास भई आएकोमा सोहि दिनमै अर्थात् २०६८ असार १२ गते नै १२ करोड रुपैयाँ ऋण माग गरी धितो सुरक्षणमा सोहि जग्गा बैंकसँगको मिलेमतोमा १६,७४,५०,००० (सोह्र करोड चौहत्तर लाख पचास हजार) रुपैयाँको मुल्यांकन कायम गराई ओभर भ्यालुएसन रिपोर्ट बैंकमा दिएको, २०६८ साल असार १५ गते उक्त धितोलाई बैंकमा रोक्का राखी साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकबाट रु. ३ करोड डिमाण्ड लोन डि एन एस इन्भेष्टमेन्ट प्रा. लिका नाममा प्रवाह गरिएको, २०६८ असार २६ गते सोहि धितोलाई देखाएर अर्को ४ करोड रुपैयाँ कर्जा थप गरिएको छ ।’

‘ऋण लिएपश्चात जुन प्रयोजनका लागि लिइएको हो उक्त प्रयोजनमा खर्च नगरी कम्पनी उक्त कर्जाको दुरुपयोग गरी साँवा र व्याजसमेत भुक्तानी गर्न छोडेको, एक करोड सत्र लाख मात्रमा राजिनामा पास गरी लिएको जग्गा देखाएर बैंकसँगको मिलेमतोमा ७ करोड रुपैयाँ कर्जा प्रवाह गरी कर्जा रकम दुरुपयोग गरी बैंकिङ्ग कसुर गरेको, उक्त जग्गा २०८१ साल बैसाख १४ मा ११,६४,६४,५०० (एघार करोड चौसठ्ठी लाख चौसष्ठी हजार पाँच सय) रुपैयाँमा ‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि’  को नाँउमा नामसारी गरि पुनः मिति २०८१ जेठ १७ गते अर्थात् एक महिनामै उक्त जग्गा आफ्नै समूहको दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि. को नाममा नामसारी गरी ग्लोबल आइएमई बैंकबाट ८ करोड रुपैयाँ कर्जा लिई कर्जा रकम दुरुपयोग गरी बैंकिङ्ग कसुर गरेकोले ग्लोबल आईएमई बैंक र दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लिको मिलेमतो भएको कसुरको छानविन गरी कारबाही गर्न अविलम्ब माग गर्दछु ।’ जाहेरीमा थप भनिएको छ ।

‘ग्लोबल आईएमई बैंकबाट ८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको कम्पनीको चुक्ता पूँजी २५ लाख मात्र भएको र पुँजी रु. १५ करोड कायम गरे पनि कुनैपनि बैंकिङ्ग कारोबार समेत नभएकोले सुनियोजित तरिकाले कर्जा लिनकै लागि अप्रत्यासित रुपमा बैंक ठगी गर्ने उद्देश्य देखिएको र दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि. को विगतमा कारोबार शुन्य भएतापनि ग्लोबल आइएमई बैंकले ८ करोड रुपैयाँ कर्जा दिएर कर्जा दुरुपयोग गरेकाले निष्पक्ष रुपमा अनुसन्धान गरी यस घटनामा संलग्न दोषी उपर काबाही गरिपाउँ।’ जाहेरीमा उल्लेख छ ।

यस विषयमा बुझ्दा सिआइबीका एसएसपी होविन्द्र वोगटीले निवेदन दर्ता भई अनुसन्धान प्रकृया अघि बढिसकेको बताएका छन्।

ग्लोबल आईएमई बैंकबाट कर्जा प्रवाह हुँदा अध्यक्षमा विवादित व्यापारी चन्द्र प्रसाद ढकाल र सिइओमा रत्नराज बज्राचार्य थिए। हाल चन्द्र ढकालनै अध्यक्ष छन् भने  सुरेन्द्र कुमार रेग्मी सीइओ छन् । सीईओ  रेग्मीले एनबी समूहले धितो राखेको जग्गा विवादमा छ भन्ने कुरा जानकारी नभएको बताए। उनले भने, ‘हामीलाई यस बिषयको जानकारी छैन।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *