तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको समाजवादी मोर्चाको निष्कर्ष

काठमाडाैं । विपक्षी चार दलीय समाजवादी मोर्चाले शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शन रोक्ने कार्यमा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ ।

सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सरकारको कमजोरीका कारण जनधनको क्षति भएको निष्कर्ष निकालेको हो ।

यस्तै प्रतिगामी शक्तिहरुले भविष्यमा पनि आततायी घटना घटाउन सक्ने देखिएकाले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकले क्रान्तिबाट स्थापित भएको गणतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधरबिच बृहत् अन्तर्क्रिया गर्ने समेत निर्णय गरेको छ ।

मोर्चाले सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र उक्त घटनाको मूल्यांकन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको निष्कर्ष निकालेको छ ।

समाजवादी मोर्चाले यस्ता गतिविधिको सशक्त भण्डाफोर र प्रतिवाद गर्न दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिए ।

‘कार्यक्रम डिजाइनमा छ योजनाबद्ध छ । आगामी दिनमा पनि घटना घट्न सक्छन् । यो घटनामा डिजाइनकर्तालाई सशक्त कार्बाहीका लागि डेलिगेसन नै गएर सरकारसँग दोषीमाथि कारबाही र क्षतिपूर्ति भराउन माग गर्छौं,’ उनले भने, ‘त्यस्तै, गणतन्त्रको रक्षा र सामन्तवादीहरूको हर्कत रोक्न गणतन्त्रवादीहरूसँग अन्तरक्रिया गर्ने र यसको मिति मोर्चाको सचिवालयले तोक्ने निर्णय गरेका छौं ।’

नेता विश्वकर्माले मोर्चाको बैठकले क्रान्तिका उपलब्धि रक्षा गर्न युवालाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *