पूर्वराजाको राहादानी रद्द गर्ने देउवाको प्रस्तावको पक्षमा गगन, विपक्षमा उभिए शेखर र गृहमत्री लेखक

काठमाडौं।  पूर्वराजा ज्ञानेन्द्र शाहको राहादानी रद्द गर्ने र उनलाई नागार्जुन बस्न नदिने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकृत भएको छ।

सभापति देउवाले शनिबार बसेको पदाधिकारी बैठकमा राजतन्त्र पुनस्थापना पक्षधरहरूको आन्दोलन चर्किँदै गएकाले पूर्वराजाको राहधानी रद्द गर्नुपर्ने प्रस्ताव पदाधिकारी बैठकमा राखेका थिए। तर, देउवाको प्रस्तावलाई पार्टीका नेताहरूले अनुमोदन गर्न अस्वीकार गरेका छन्।

बैठकमा महामन्त्री गगन थापा, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले सभापति देउवाको प्रस्तावको समर्थन गरेका थिए। उनीहरूले पूर्वराजाको राहधानी रद्द गरेर उनलाई दिँदै आएको नागार्जुन दरबार खोस्नुपर्ने प्रस्तावको पक्षमा खुलेर उभिए।
तर, पूर्वराजा शाह २०७२ साल वैशाख १२ गते आएको भूकम्पबाट नागार्जुन भत्किएपछि त्यहाँ गएका छैनन्।

बैठकमा नेता शेखर कोइरालाले अहिलेको अवस्थामा राजाको पासपोर्ट रद्द गर्ने कुरा उपयुक्त नहुने धारणा राखे। कोइरालाले एमाले माओवादीसँग उनीहरूका एजेन्डामा सहमति जनाएर जानुभन्दा पनि कांग्रेसले संविधानको पक्षमा आफ्नै ढंगले गतिविधि गर्नुपर्ने बताएका थिए।

बैठकमा सहभागी नेताका अनुसार कोइरालाले धर्मनिरपेक्षता संघीयता जस्ता विषयमा पार्टीभित्रै पर्याप्त मिटिङ गर्न प्रस्ताव गरेका थिए।

त्यस्तै, सभापति देउवाको प्रस्तावलाई गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले उपयुक्त नरहेको धारणा राखे। उनले पूर्वराजाको पासपोर्ट रद्द गर्नु अहिलेको अवस्थामा बुद्धिमत्तापूर्ण नहुने बताएका थिए।

पूर्वराजाको पासपोर्ट रद्द गर्ने र उनलाई नागार्जुनमा बस्न दिएको अनुमति रद्द गर्नुपर्ने विषयमा सभापति देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुरा मिलेको बताइन्छ।

ओलीले पासपोर्ट रद्द गर्नुपर्ने विषयमा कुराकानी भइरहेको बताएका थिए। यसअघि गणतान्त्रिक मोर्चा बनाएर जानुपर्ने सभापति देउवाको प्रस्ताव पनि केन्द्रीय समितिले अस्वीकृत गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *