नेकपा एमाले अछामले म्यादी प्रहरी भर्नाकालागि सिफारिस गरिएको भन्ने भ्रमपूर्ण समाचारको खण्डन गरेको छ । विभिन्न संचारमाध्यामले पार्टीले प्रयोग नै नगरेको लेटर प्याड र छाप भएको एक भ्रमपूर्ण प्रतिलिपि प्रकाशित गरेका थिए ।
हुँदै नभएको विषयलाई समाचार बनाइएको भन्दै एमाले अछामले खण्डन गरेको हो । एमाले अछामका सचिव भीम बहादुर रावलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेकपा एमालेलाई जनताको बिचमा विवादित बनाउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुक र केही संचारमाध्यामले गलत प्रचार गरेको स्पष्ट पारेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ,‘म्यादी प्रहरी भर्नाकालागि सिफारिस गरिएको भन्ने भ्रमपूर्ण समाचार प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ यसरी सञ्जालमा आएको लेटर प्याड र छाप हाम्रो जिल्ला पार्टी कार्यालय वाट प्रयोग भएको छैन ।’ साथै एमाले अछामले कहीँ कतै म्यादी भर्नाकालागि सिफारिस नगरिएको पनि स्पष्ट पारेको छ ।
यस्तै एमाले अछामले भ्रमपूर्ण समाचारबाट नेकपा एमाले विचलित नहुने र पार्टी कार्यकर्ता र आम जनतालाई समेत यस्ता कुरा विश्वास नगर्न आग्रह गरेको छ ।







