देशलाई अप्ठ्यारोमा पारे युवा संघ ‘बाघ बनेर झम्टन्छ’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आकलन नै नगरेको बताए। उनले देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिएझैँ झम्टन्छ। स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरूपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्सजस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्,’ उनले भने।

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे। ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सक्कियो। त्यही हो जवाफ। उनीहरूलाई सहयोग हुने उनीहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ उनले भने।

प्रधानमन्त्री ओलीले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे। विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाइँहरू। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाइँहरू चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौ। न आत्तिन्छौं। धैर्यपूवर्क अगाडि बढ्छौं,’ उनले भने।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *