काठमाडौं । सत्ताधारी दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश होल्ड भएको छ ।
सरकारले गत पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी भएको थियो । त्यसअगाडि १४ पुसमा सहकारी सम्बन्धी अध्यादेश ल्याएको थियो ।
यीमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक संसदमा बिचाराधीन छ । तर, भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृत समेत हुन सकेको छैन ।
वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।






