धनगढी। कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेर आत्महत्या गरेको जनाएको छ।
बुधबार विहान करीव ११:२० बजे आफ्नै घरको पाँच तलाबाट हाम फालेर घाईते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले नवजीवन अस्पतालमा उपचारका क्रममा अग्रवालको मृत्यु भएको बताए।
केहीबेरमा अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक लैजाने प्रहरीले जनाएको छ। अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन।
अग्रवालले हाम फालिरहेको दृष्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका छन्। घरको र्यालिङबाट केही तल झरेर उल्टा फर्केर हाम फालेका अग्रवाललाई हाम फाल्दै गर्दा त्यहाँ रहेका स्थानीय बासिन्दाले हाम नफाल्न आग्रह गरेका थिए। श्रृंगारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन्।







