यौन व्यवसाय खुला गर्नुपर्ने सांसद घिमिरेको भनाइ कांग्रेसको आधिकारिक धारणा होइनः कांग्रेस

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ। प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले केही दिनअघि यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए।

कांग्रेसको मंगलबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने प्रमुख सचेतक घिमिरेले संसद्‌मा बोलेको यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उनको नितान्त व्यक्तिगत भएको र पार्टीको आधिकारिक धारणा नभएको बताएका छन्।

पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न आग्रह गरे। त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताए।

उनले भने, ‘हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ। त्यो नेपाली कांग्रेस पार्टीको आधिकारिक धारणा होइन। त्यस्तो निर्णय नेपाली कांग्रेस पार्टीले लिएको छैन। अहिले कुनै लिने अवस्था पनि छैन। त्यस्तो दृष्टिकोण बनाएको छैन। पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ। प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो। त्यो उहाँको नितान्त व्यक्तिगत हो। त्यसको खालको धारणा नराख्न भनेका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *