काठमाडाैं । बजारमा डण्डीको मूल्य बढेको छ । कम्पनीले १५ दिनको बीचमा चार पटकसम्म डण्डीको मूल्य बढाएको नेपाल निर्माण सामग्री व्यापार संघले जनाएकाे छ ।
डण्डी उत्पादक कम्पनीहरूले फागुन २० गतेबाट डण्डीको मूल्य बढाउन सुरू गरेका व्यापार संघले जनाएकाे छ ।
त्यसअघि डण्डीको कारखाना मूल्य प्रतिकिलो भ्याट बाहेक ७८ रूपैयाँ थियो ।
फागुन २० गते प्रतिकिलो दुई रूपैयाँ बढाएर ८० रूपैयाँ पुर्याए । त्यसैगरी फागुन २५ गते पुनः प्रतिकिलो तीन रूपैयाँ बढाएर ८३ रूपैयाँ पुर्याएकोमा तुरून्तै २८ गते बढाएर ८६ रूपैयाँ पुर्याए ।
चैत लागेसँगै सोमबारबाट लागु हुने गरी पुनः प्रतिकिलो चार रूपैयाँ बढाएर ९० रूपैयाँ पुर्याएको छ । याे भ्याट बाहेकको कारखाना मूल्य हो ।
त्यसमा कारखानाबाट काठमाडौंसम्मको ढुवानी तथा लोड–अनलोड भाडा प्रतिकिलो तीन रूपैयाँ ५० पैसा जोडिन्छ । बढेको मूल्य अनुसार उपभोक्तालाई डण्डीको मूल्य प्रतिकिलो एक सय ६ रूपैयाँ पर्छ ।
सिमेन्टको मूल्य पनि उद्योगीले गत कात्तिकबाट बढाएका हुन् । अहिले बजारमा ओपिसी सिमेन्ट प्रतिबोरा ८ सय २० देखि ८ सय ५० र ओपिसी ७ सयदेखि ७ सय ३० रूपैयाँ छ ।
त्यस्तै, इँटा, गिटी–बालुवाको मूल्य भने स्थिर छ ।






