काठमाडौं। विवादित व्यापारी चन्द्र ढकाल र अर्का व्यापारी मीन बहादुर गुरुङको संयुक्त लगानी रहेको कम्पनी ‘चन्द्रागिरी हिल्स’ले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा प्रति रकम अशुली गरिरहेको तथ्य बाहिरिएको छ। केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको पाइएको हो।
चन्द्रागिरी हिल्स र चन्द्रागिरी नगरपालिकाकै मिलेमतोमा प्रशिद्ध भालेश्वर मन्दिरको दर्शन गर्न जाने दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क उठईरहँदा समेत स्थानीय जनप्रतिनिधि, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रशासनले समेत कुनै चासो नदेखाएको स्थानीयबासीको गुनासो छ।
चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा अनुमति विपरीत निजी सुरक्षागार्ड राखेर दैनिक लाखौं रुपैयाँ अशुल गरिरहेको छ। प्राप्त ९१२६ नम्बरको भौचर आधारमा हालसम्म करिब १०,००० जनासँग शुल्क अशुल गरिसकेको देखिन्छ। विगत तीन महिना अघिदेखि सञ्चालनमा रहेको यो अवैध शुल्क संकलनबाट चन्द्रागिरी हिल्सले हालसम्म झण्डै ५० लाख रुपैयाँ उठाइसकेको छ।
चन्द्रागिरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले भने चन्द्रागिरी हिल्सलाई पैदल यात्रीबाट शुल्क उठाउने अनुमति नदिएको बताए। तर, उनले पैदलयात्रुहरूबाट रकम असुलिएको कुरालाई अस्वीकार गर्न भने सकेनन्। खड्गीले भने, ‘त्यहाँ धेरै मान्छे हिडेर जाने, बाहिरको खाजाहरु लगेर खाने गरेको भएर त्यसो गरेको हो तर म अहिले त्याहिँ जाँदै छु, यो शुल्क असुली तत्काल रोक्न सुचना जारी गर्दैछौँ।
तर, स्थानीयवासीहरूले भने चन्द्रागिरी हिल्सको यो कार्य पूर्ण रूपमा गैरकानुनी रहेको र यसमा नगरपालिकाकै सम्लग्नता रहेकोभन्दै विरोध जनाइरहेका छन्।
स्थानीय जनताले कडा विरोध जनाएपछि चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालको नेतृत्वमा कम्पनीको आपतकालीन बैठक समेत बसेको छ। तर उक्त बैठकमा विरोधलाई दबाउने र १०० रुपैयाँ शुल्क निरन्तर उठाइरहने निर्णय गरिएको हिल्स निकट स्रोतले जनाएको छ।
चन्द्रागिरी हिल्सले प्रत्येक वर्ष अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सो सुनुवाइ समेत औपचारिकतामै सिमित भएको स्थानीयहरूको गुनासो छ। सुनुवाइका लागि फोटो खिचाएर सामाजिक सञ्जालमा राख्ने बाहेक कुनै ठोस छलफल नगरिने उनीहरूको गुनासो छ।
चन्द्रागिरी हिल्सका संचालकले ठूला भनिएका राजनीतिक दल एमाले, कांग्रेस र माओवादीका नेताहरूलाई भालेश्वरस्थित रिसोर्टमा लगेर महँगा भोजसहितका आतिथ्य सत्कार गर्ने गरेको स्थानीय बताउँछन्। जसका कारण पनि उनीहरुको गैरकानुनी काममा आवाज उठाउन त परै जावस् चुइक्क बोल्न समेत हिम्मत गर्दैनन्, एक स्थानीयले भने।
सार्वजनिक वन अतिक्रमण गरेर करोडौंको व्यापार गरिरहेको चन्द्रागिरी हिल्सले अब पैदलयात्रुहरूसँग पनि गैरकानुनी रूपमा शुल्क असुल्न थालेपछि चन्द्र ढकाल समुहको तीब्र आलोचना भईरहेको छ। राज्य प्रशासन र राजनीतिक नेतृत्वकै मिलेमतोमा भइरहेको अईएमइ समूहको लुटलाई नियन्त्रण गर्न जनस्तरबाट नै दबाब दिनुपर्ने जानकारहरु बताउँछन्।
यस किसिमको ठगीका सम्बन्धमा चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालसँग जिज्ञाशा राख्दा कुनै प्रतिक्रिया दिन चाहेनन् भने सूचना अधिकारी झलकराज पौडेलबाट बुझ्न खोज्दा उनले पनि जवाफ दिन अस्वीकार गरेका छन् ।






