तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन : प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैको तस्बिर जलाउँदैमा सरकारले पक्राउ गर्न नहुने बताएका छन्। उनको तस्बिर जलाएको आरोपमा राप्रपाका एक नेता आइतबार पक्राउ परेपछि दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।

पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव हुन् । उनलाई प्रहरीले आइतबार भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो।

उनले शनिबार हेटौंडाको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाएका थिए। उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्बिर जलाएका थिए।

दाहालले आइतबार सामाजिक सञ्जालबाट भनेका छन्- ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’

तर, बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर मकवानपुर प्रहरी कार्यालयमा उपस्थित गराइएको  डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन्। तस्बिर जलाउँदैमा कसैलाई पक्राउ गर्न उचित नहुने भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *