काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको प्रदर्शनले आफूहरू नझस्केको बताएका छन् ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभई मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पार्दै गणतन्त्रका पक्षधरहरूले गरेका त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको समेत बताए । उनले आम नेपाली जनताको मनमा भएको कुरा पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेकोको जिकिर गरे ।
समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत्र १५ गते काठमाडौँमा विरोध प्रदर्शन सहितको जनसभा आयोजना गर्ने जनाएको छ ।
राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना र भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त भएको मोर्चाको भनाई छ। सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको ठहर गर्दै मोर्चाले सभा आयोजना गरेको उनको भनाई छ ।






