पोखरा। म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिनाको आरोपित ५ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कुमारी सहकारीमा आर्थिक हिनामिना गरेको आरो लागेकालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
अदालतका श्रेस्तेदार भोलाराज रेग्मीका कुमारी सहकारीका हर्ताकर्ता एवं एमाले नेता राजकुमार थापासहित प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिएका सबै ५ जनालाई कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।
कुमारी सहकारीका संचालक समिति र व्यवस्थापकको समेत मिलोमतोमा करिब १ अर्ब ५० करोड हिनामिना गरेको आरोपमा ६ जनालाई २९ दिनअघि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
कुमारी सहकारीको रकम हिनामिना गर्ने मुख्य योजनाकार एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा एक्लैले १७ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । उनलाई ८ वर्ष कैद सजाय माग गरिएको छ ।






