काठमाडौँ। बिमा प्राधिकरणका अध्यक्ष रहेका सूर्य सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतका सदस्यहरू रामवहादुर थापा, मुरारी श्रेष्ठ र तेजनारायण सिंहको संयुक्त इजलासले उनमाथिको आरोप पुष्टि नहुने ठहर गर्दै सफाइ दिएको हो ।
सिलवालमाथि मुद्दा चलिरहेकै बेला सरकारले गत सातामात्र बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ ।
सिलवालले सफाइ पाएसँगै उनी पुनर्वहाली भएको कानून व्यवसायीको जिकिर छ । सरकारले उनलाई अवकाश नदिएको र कार्यकाल पनि एक वर्ष बाँकी रहेको अवस्थामा उनी स्वतः पुर्नवहाली हुने दावी उनीहरुको छ ।
२०१५ साल साउन १५ गते जन्म मिति कायम गरेर निजामती सेवाबाट अवकास पाएका सिलवाल ६५ वर्षे उमेर हदका कारण बिमा प्राधिकरणबाट १५ साउन २०८० मा अवकाश पाउनुपर्ने भए पनि पदमा बसिरहेको आयोगको दाबी थियो। २०१५ सालको जन्ममितिका आधारमा उनले १५ साउन २०७३ मा निजामती सेवाबाट अवकाश पाएका थिए।
२०८० साउनपछि पनि पदमै रहेर पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचार भएको दाबी गर्दै बिगो माग दाबी गरिएको थियो।
सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्तिको उमेर हद ६५ वर्ष हुनुपर्ने व्यवस्था अनुसार सिलवालले २०८० साउनमै अवकाश लिनुपर्ने आयोगको दाबी छ।
सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिदा जन्ममिति २०१५ साल साउन १५ गते उल्लेख गरेका थिए। जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा जन्ममिति २२ कात्तिक २०१६ साल उल्लेख गरेको आयोगको दाबी छ। सिलवालको सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही २०१५ साल नै जन्ममिति उल्लेख छ।
सिलवालमाथि मुद्दा दायर भएपछि रिक्त पदमा सरकारले अघिल्लो हप्ता शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ।






