काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।
सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्धा दायरपछि प्राधिकरणको अध्यक्षबाट सिलवाल निलम्वनमा परेका थिए ।
अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण पेश गरी नागरिकता लिएर आफनो उमेर ढाँटेर २०८० साल साउन १४ गते नै अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सिलवालले सफाइ पाए पनि अब प्राधिकरणमा पुनर्बहाली हुन पाउने छैनन् । सरकारले गत सातामात्रै शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिसकेको छ ।







