राष्ट्रिय वाणिज्य बैंकका सिईओ र अध्यक्षविरुद्व राष्ट्र बैंकमा उजुरी: कर्जामा कमिसन लिएको गम्भीर आरोप

काठमाडौँ। राष्ट्रिय वाणिज्य लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) देवेन्द्र रमण खनाल र बैंकका अध्यक्ष दिलिप ढुङ्गानाविरुद्द राष्ट्र बैंकमा उजुरी परेको छ ।

सीइओ खनाल रअध्यक्ष ढुंगाना बिरुद्ध भ्रष्टाचार र अनियमितता गरेको बिषयमा उजुरी परेको राष्ट्र बैंकले जनाएको छ। अध्यक्ष र सीइओले पदको दुरुपयोग गरी नियमविपरितका ठूला-ठूला कर्जा कमिसन लिएर संचालक समितिबाट जबर्जस्ती पास गराउने गरेकोले बैंकको निक्षेप जोखिममा परेको गम्भीर आरोप छ।

उजुरीमा वाणिज्य बैंककासीइओ खनाल रअध्यक्ष ढुंगानाले कर्जा प्रवाह गर्दा कमिशन लिने गरेको, सामाजिक उत्तदायित्व को रकम जथाभावी आफ्ना आफन्त नजिकमा नातेदार र आँफू आवद्द पार्टीका कार्यकर्तालाई करोडौं रुपैयाँ वितरण गरेको, भ्यालुएटरवाट समेत कमिसन खाने गरेको, लिलामी प्रकृया पारदर्शी नबनाई कम बिड रकममै आफ्ना आफन्तका नाममा पार्ने गरेको लगायतका गैर कानुनी कार्य गरेकाले उनीमाथि निष्पक्ष रुपमा छानबिन गरी कारवाहीको माग गरिएको छ ।

उजुरीमा भनिएको छ,- “वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्र रमण खनाल र बैंकका संचालक समिति अध्यक्ष दिलिप ढुंगानाले जथाभावी ऋण प्रवाह गरी गैर कानूनी रुपमा उक्त ऋणवापत कमिसन लिने गरेको पाईएको छ। उनीहरुले कर्जा रकमको ४ प्रतिशतसम्म कमिसन लिएर मात्रै ऋण प्रवाह गर्ने गरेका छन् । जसमा बैंकका विभागीय प्रमुखले प्रपोजल तयार गरी सीइओले बोर्डमा लैजाने र अध्यक्षले पारित गर्ने गरेका छन्। यसरी भागीय प्रमुख, सीइओ खनाल र अध्यक्ष ढुंगानाको मिलेमतोमा ऋणीबाट कमिसन लिएर बैंकबाट प्रवाह भएका ग्राहकको अर्बौ रुपैयाँ निक्षेप अपचलन हुँदा उक्त रकम खराव कर्जामा परिणत भई डुब्ने अवस्थामा पुगेको छन्।”

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकको जिम्मेवार पदमा रहेर ग्राहक तथा सरकारी सम्पतिको दोहन गरी आफ्नो अख्तियारको दुरुपयोग गरेको पाईएकोले बैंकका सीइओ खनाल र अध्यक्ष ढुंगानाको गैर कानूनी काम कारबाहीमाथि निष्पक्ष रुपमा छानविन गरी यथासिघ्र कानूनी कारबाही प्रकृया अघि बढाउन माग गरिएको छ।

सीइओ खनाल र अध्यक्ष ढुंगानाविरुद्द परेको उजुरीमाथि अनुसन्धान भई कारबाही प्रकृयामा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। स्रोतका अनुसार राष्ट्र बैंकले सुरुमा उजुरी लिन अस्वीकार गरेको र उक्त बिषय विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि राष्ट्र बैंकले इमेलबाट आएको उजुरी दर्ता गरेको थियो। हाल राष्ट्र बैंकले उजुरीका सम्बन्धमा बैंकसँग जवाफ समेत मागिसकेको छ।

सीइओ खनाल रअध्यक्ष ढुंगानामाथि बैंकबाट प्रवाह भएका भूगर्भ सिमेन्ट लगायतका ठूला-ठूला निष्क्रिय कर्जा समेत खराब कर्जामा नदेखाई उक्त कर्जामा समेत कमिसन लिएर ऋणलाई पुनार्तालिकीकारण गरेको आरोप लाग्दै आएको छ।

यस सन्दर्भमा सीइओ खनाल र अध्यक्ष ढुंगानाले भने उक्त आरोपमा कुनैपनि सत्यता नभएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *