काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएकोमा यसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।
कम्पनीले माघ २१ गतेबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको थियो ।
त्यस्तै, कम्पनीले कुल निष्कासनको ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने जनाएकोछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Artha Sanjal






