चितवन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जना तथा ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुन लागेको छ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीको पुरक अनुसन्धान प्रतिवेदनको अध्ययनपछि ठगी तथा संगठित अपराध मुद्दा दर्ता गर्न लागिएको हो। गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई समेत प्रतिवादी बनाइएको छ।
यसअघि रवि लामिछाने कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख तथा रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा १ करोड धरौटीमा छुटेका थिए।
यसअघि प्रहरीले बुझाएको पहिलो प्रतिवेदन फिर्ता गरी थप अनुसन्धान गर्न निर्देशन दिएको सरकारी वकिल कार्यालयले प्रहरीको पछिल्लो प्रतिवेदनलाई आधार मानेर मुद्दा दर्ता गर्न लागेको हो।
प्रहरीको निवेदनअनुसार साहारा सहकारीको मात्र ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरिएको छ। साथै, सहकारी हिनामिना प्रकरणमा कुल ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको दाबी प्रहरी अनुसन्धानमा उल्लेख छ। कम्पनीहरूका हकमा भने ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो तोकिएको छ।
यस विषयमा अदालतमा मुद्दा दर्ता भएपछि कानुनी प्रक्रिया अघि बढ्नेछ।






