काठमाडौं। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माण सुरु भएपछि सुरु भएको आन्दोलनका कारण पूर्वी पहाडी जिल्ला बन्द छ ।
यसैबीच, केबलकार निर्माणको विरोधमा प्रहरीले दमन गरेको भन्दै नो केबलकार समूहको समर्थनमा मुक्कुमलुङ्ग संरक्षण अभियान अन्तरगतका दलीय सङ्घर्ष समितिले अरुण पूर्वका ९ जिल्ला समेत बन्दको आव्हान गरेको छ । मञ्च सम्बद्ध संघिया लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचानवादी मोर्चा, राष्ट्रिय मुक्त पाटी लगायतका विभिन्न राजनीतिक माघ २० र २१ गते अरुण पूर्वका नौ जिल्ला बन्दको आव्हान गरेका हुन् ।

किराँतीहरूको आस्थाको केन्द्र पाथिभार मुक्कुमलुङ्गमा सास्कृतीक अतिक्रमण सुरु भएको भन्दै ती राजनीतिक दलले बन्दको आव्हान गरेका छन् ।
पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने स्थानीय समूहले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गरिनु हुँदैन भन्दै ‘नो केबलकार’ अभियान संचालनसँगै सुरु गरेको आन्दोलनका कारण माघ १५ गते देखि मेची राजमार्ग र तमोर कोरिडोर बन्दका कारण ताप्लेजुङ, पाँचथर र इलाममा सवारीका साधन चलेका छैनन् ।
पाथीभरा क्षेत्र किराँतीहरूको आस्थाको केन्द्र भएको भन्दै त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर लामो समयदेखि विरोध हुँदै आएको छ । विरोधका बावजुत पनि व्यवसायी चन्द्र ढकाल नेतृत्वको निर्माण कम्पनीले केबलकार निर्माणको काम थालेपछि स्थानीय नो केबलकार समूहले आन्दोलन सुरु गरेको हो ।

केबलकार निर्माणमा अवरोध गर्न पुगेको समूह र प्रहरी बिच झडप हुँदा प्रहरीको गोली लागि ४ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।
निर्माण कार्यक्रम अवरोध गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको आन्दोलनरत पक्षले जनाएको छ । पाथीभरालाई किराँतीहरूले मुकुमुलुंग भन्ने गर्छन् । पाथिभरालाई मक्कुमलुङ्ग अर्थात् उनीहरूको मुन्धुमी आस्थाको केन्द्रको रूपमा मान्ने गरेका छन् ।






